काउली वर्गको तरकारीमा लाग्ने कालो कुहिने रोग
डा. रामदेवी तिमीला,
रोगको परिचय:
काउली वर्गको तरकारी खेती गरिने सबैजसो क्षेत्रहरुमा यो रोग लागेको पाईन्छ । नेपालमा पनि काउली, बन्दा, मूला, रायो, ब्रोकाउली, चाईनिज् बन्दा आदि बालीहरुमा यो रोग लागेको देखिएको छ । आद्र वातावरणमा पाईने यो रोग उष्ण र अर्धउष्ण वातावरण भएको क्षेत्रहरुमा बढी फैलिएको छ । चिसो बढी भएको ठाउँहरुमा यस रोगबाट हुने नोक्सानी न्यानो ठाउँहरुको दाँजोमा कमै हुन्छ । तर अनुकूल वातावरणमा रोगको कारणले गर्दा सम्पूर्ण बाली नष्ट हुन सक्छ । कालो कुहिने रोगको कारणबाट उत्पादनमा विभिन्न किसिमले ह्रास आउन सक्छ । नेपालमा यो रोग सर्वप्रथम २०२२ सालमा देखा परेको उल्लेख छ । रोगले ५० देखि १०० प्रतिशतसम्म बाली नष्ट गर्न सक्ने भएतापनि नेपालमा काउलीमा ६० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास आएको उल्लेख छ भने पुरै बन्दा बाली नष्ट भएको पनि पाईएको छ । जान्थोमोनास् क्याम्पेस्त्रिस् पीभी क्याम्पेस्त्रिस् (Xanthomonas campestris pv. Campestris) नामक शाकाणुको कारणले यो रोग लाग्ने गर्दछ ।
रोगको लक्षणः
यो रोगले बालीको कुनै पनि अवस्थामा आक्रमण गर्न सक्दछ । ब्याडमा बेर्नाको दलीय पातको किनारा डढेर कालो भएको लक्षण देखा पर्दछ । त्यस्ता रोग ग्रसित वेर्नाका पातहरु पहेंलो हुनुका साथै ओईलिएर मर्न सक्छन् । लक्षणको रुपमा बोट बिरुवाको पातको किनारमा हल्का पहेंलो देखि पहेलो दागहरुबाट शुरु पातको मूख्य नसातिर फैलदै गएको देखिन्छ । ती दागहरु अंग्रेजी ‘V’ आकारको भई बीचको भाग केही सुकेको हल्का पहेंलो देखि खैरो रंगको हुन्छ । ती दागहरु भित्रको नसाहरु काला हुन्छन् । साधारणतया पातको किनारमा रहेको मसिना छिद्रहरु (Hydathodes) बाट शाकाणुले प्रवेश गर्ने भएकोले किसिमको लक्षण देखा पर्दछ । त्यस्ता दागहरु भित्रको नसा कालो भई मूख्य नसा तिर बढ्छ र पछिबाट डाँठसम्म पुग्छ रोगको प्रकोप ज्यादा भएको खण्डमा त्यस्ता दागहरु एक आपसमा जोडिएर पातको किनारा पहेलिएर सुकेको देखिन्छ । यस रोगको कारणले गर्दा पातहरु पहेंलो भएर छिट्टै सुकेर जान्छ । यो रोगको शाकाणु नसाद्वारा डाँठसम्म पुग्ने भएकोले डाँठ भित्रको संचार तन्तु कालो भएको हुन्छ । कालो नसामा पर्ने गरी दाग काटेर र शुक्ष्मदर्शक यन्त्रमा हेर्दा शाकाणु बगेको देखिन्छ । प्रकोप ज्यादा भएको अवस्थामा काउली बन्दामा कोबी नलाग्न सक्दछ भने डाँठ कोबी कुहिन सक्छ । यदि शाकाणु वा अन्य चोटको माध्यमबाट पातमा प्रवेश पाएमा, पातको बिच बिचमा पनि दागहरु देखिन्छ । यस रोगको शाकाणुले ग्रस्त भागहरुमा पछिबाट अन्य शाकाणुहरुद्वारा गिलो सड्न हुन थाल्दछ । रोग ग्रस्त बोटहरु राम्ररी बढ्न सक्दैन र भण्डारणमा समेत बन्दा काउलीको कोबी साथै बालीको बजार भाउमा ह्रास आउँछ । यस रोगको शाकाणु बीउ जनित भएतापनि बीउमा खासै लक्षण देखिदैन तर रोगी बीउ चाउरिएको हुनसक्छ । १८ डिग्री सेल्सियस भन्दा कम तापक्रममा रोगको लक्षण देखा पर्दैन ।

रोगानुकूल वातावरणः
यो रोगको लागि दिनमा न्यानो भई राती चिसो भएको बढी उपयुक्त हुन्छ । यस्तो वातावरणमा पातको किनारामा रहेको छिद्रहरुमा पानीको थोपाहरु बन्ने भएकोले शाकाणुको प्रवेशको लागि अति उत्तम अवस्था मानिन्छ । दिनको तापक्रम २५ डिग्रीदेखि ३० डिग्री सेन्टीग्रेडसम्मको अवस्थामा शाकाणुले बोटमा प्रवेश गरेको ७ देखि १४ दिन भित्र रोगको लक्षण देखा पर्दछ । १८ डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भएमा यो रोगको लक्षण देखापर्दैन । त्यसकारण धेरै चिसो अवस्थामा रोगको लक्षण नदेखिएतापनि तापक्रम बढेको खण्डमा लक्षण अकस्मात देखा पर्न सक्दछ ।
रोगचक्र
यस रोगको शाकाणुले काउली वर्गको विभिन्न बालीहरु र झारपातहरुलाई आक्रमण गर्न सक्ने भएकोले तिनीहरुमा आश्रित भई बसेका हुन्छन् । रोगी बीउ , रोगी झारपातहरु, नावो काउली वर्गको बोट विरुवाहरु तथा बालीका पुराना ठुटाहरु यस रोगको श्रोतहरु हुन् । तर रोगी बीउबाट उम्रेका रोगी वेर्नाहरु प्रारम्भिक श्रोत हुन् । १०,००० बीउमा तिनवटा मात्रै रोगी बीउ भएमा पूरा बाली संक्रमित हुन सक्छ भने वेर्ना सारिसकेको बारीमा ३ हप्तामा ०-५५ % बट ६५ % संक्रमित हुन सक्छ । रोगी बीउ रोप्नाले ब्याडमा नै रोग देखापरी बेर्नाहरु संक्रमित हुन्छन् भने वेर्ना सार्ने बेलामा र सारेका वेर्नाहरुबाट यो रोगको शाकाणु सिंचाई तथा पानीको छिट्का मार्फत फैलिन्छ । विरुवा सारेको केही हप्ता पछि नयाँ पातहरुमा लक्षण पर्न थाल्दछ । यस रोगको शांकाणुले चोट पटक पातमा रहेको प्राकृतिक छिद्रहरु, खासगरी पातको छेउमा रहेका छिद्रहरुबाट सिंचाइको, पानी पर्दा गोडमेल गर्दा बोटमा प्रवेश गर्दछ । वर्षा र स्प्रिन्कल सिंचाईबाट केही मिटर टाढासम्म शाकाणु फैलिन सक्छन् । साथै किराहरुले बनाएको चोटपटक र वेर्ना सार्ने बेलामा जरामा लागेको घाउबाट पनि यो रोगको शाकाणुले बोट विरुवाहरुमा प्रवेश गर्दछ । फड्के किराद्वारा पनि यो रोग एक बोटबाट अर्को बोटमा सर्दछ । यी शांकाणु माटोमा रहेको रोगीबोटका ठुटाहरुमा र माटोमा पनि २/३ वर्ष सम्म जिवित रहन सक्ने भएको हुनाले रोगी खेतबारीबाट बगेको पानी मार्फत पनि स्वस्थ खेतवारीमा सर्छ । शिते ढुसी (Downy mildew) रोग काउली बन्दाको ब्याडमा लाग्ने साधारण रोग भएकोले शुरुको अवस्थामा कालो कुहिने रोगको लक्षण नदेखिन सक्छ । बीउ उत्पादनका लागि खेति गरिएको प्लटमा फूल फुलिसकेपछिको पछिल्लो अवस्था र बीउ छिपिने बेलाको अवस्था रोग लाग्नको लागि सबैभन्दा शसक्त हुन्छ । उक्त समयमा बोट बढी झ्यामिने र धेरै तल्लो पातहरु पहेंलो हुने भएकोले रोगको पहिचान गर्न गाह्रो हुन्छ ।
रोगको एकिकृत व्यवस्थापन
यो रोगको कारक शाकाणु बीउ र माटोबाट आउने भएकोले यसको व्यवस्थापनको लागि खासगरी खेती प्रणाली पद्धतिमा सुधार गर्ने देखि लिएर रोग सहन सक्ने जातको प्रयोग र शाकाणु नाशक विषादीको समेत प्रयोग गर्नुपर्ने हुन्छ । तर यी सम्पूर्ण विधिहरु एकिकृत वाली संरक्षण पद्धतिको सिद्धान्त अनुसार अपनाउनु पर्दछ । यो रोगको व्यवस्थापनको लागि निम्न विधिहरु अपनाउन सकिन्छ ।
१) बीउ उपचार
• मलमल कपडामा पोको पारेको बीउलाई १० मिनेट निलातूथो (०.२ प्रतिशत) को घोलमा डुवाई उपचार गरेपछि छायाँमा ओभानो पारी सुकाएर ब्याड राख्ने ।
• बीउलाई खुकुलो गरी मलमल कपडामा पोको पारेर ५० देखि ५२° सेल्सियसको तापक्रममा ३० मिनेट डुवाएर झिक्ने र छायाँमा सुकाउने । यो विधि प्रयोग गर्दा तापक्रम मिलेन भने बीउको उपचार भ्रुण मर्न सक्ने खतरा हुन्छ । यसले गर्दा बीउको उमार शक्तिमा ह्रास आउँछ ।
२) खेती गर्ने तरीकामा सुधार
• खेतबारीको सर सफाई : यो रोगको शाकाणु पुराना बालीका ठुटाहरु, काउली वर्गका नाबो बोटहरु र झारपातहरुमा बाली नभएको बेलामा आश्रृत भएर बस्ने भएकाले नयाँ बालीको लागि तिनीहरु रोगको श्रोत भइदिन्छ । त्यसकारण तिनीहरुलाई हटाई खेतबारीको सरसफाई गर्ने ।
• स्वस्थ बीउको प्रयोग : रोगको पहिलो श्रोत रोग लागेको बीउ नै हुने भएकोले रोग लागेको खेतबारीमा उत्पादन गरेको बीउ प्रयोग नगर्ने र स्वस्थ बीउको मात्र प्रयोग गर्ने ।
• घुम्ती बाली लगाउने : शसक्त बाली नभएतापनि यो रोगको शाकाणु माटोमा २ वर्षसम्म जिवित बस्न सक्ने भएकोले काउली वर्गको बाहेक अन्य बालीसँग ३ वर्षको घुम्ती बाली लगाउने ।
• रोग लागेको बेर्ना हटाउने : पातलो गरी वेर्ना राख्ने र ब्याडमा रोग लागेको वेर्नाबाट छिटो फैलिने भएकोले त्यस्ता रोगी वेर्नाहरुलाई देख्ने बित्तिकै हटाउने ।
• बोट बेर्नालाई चोटपटक र किराबाट जोगाउने : गोडमेल गर्दा र किराबाट लागेको चोटपटकबाट बोट विरुवामा यो रोगको शाकाणु छिर्ने भएकोले फड्के तथा अन्य जरा काट्ने जस्ता किराहरुको नियन्त्रण गर्ने ।
• पानीको निकासको राम्रो प्रबन्ध गर्ने ।
• सतहबाट सिंचाई गर्ने : माटोको सतह मात्र भिज्ने गरी सिंचाई गर्ने अर्थात बोटको पातहरु भिज्ने गरी स्प्रिंकल सिंचाई नगर्ने । बोट विरुवामा शित भएको बेलामा र सांझमा सिंचाई नगर्ने ।
• शीतमा वा बोट भिजेको बेलामा खेतबारीमा काम नगर्ने ।
३. रोग अवरोधक वा कम लाग्ने जातको प्रयोग गर्ने
उपलब्ध भएसम्म रोग अवरोधक वा कम रोगलाग्ने जातहरुको खेति गर्ने । काठमाण्डौ लोकल जातको काउलीमा यो रोग कम लाग्दछ । यो रोग कम लाग्ने वा सहन सक्ने बिभिन्न नयाँ नयाँ काउली / बन्दा का Hybrid हरु उपलब्ध छन् । बन्दाको हकमा ग्रीनकोरोनेट जातमा केही कम मात्र रोग लाग्दछ भने ग्रीन क्राउन यो रोग सहन सक्ने जात हो । अन्य जातहरुमा कन्सटान्जा (Constanza ), फर्ग्युना (Fortuna), ट्रोपिकाना (Tropicana ) र डिफेन्डर ( Defender ) जस्ता जातहरु रोग अवरोधक भएको उल्लेख छ ।
४. रासायनिक विषादीद्वारा ब्यवस्थापनः
रोग लागेको क्षेत्रमा खेती गर्दा माथि उल्लेखित विधिहरुको साथमा वाली जोगाउन र अत्याधिक नोक्सानबाट जोगिन रासायनिक विषादीको प्रयोग अनिवार्य हुनसक्छ । तथापी रासायनिक विषादीको प्रयोग अन्तिम अस्त्रको रुपमा प्रयोग गर्नु पर्दछ । उचित मात्रा र समयमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने कुरालाई ध्यानमा राखी यसको प्रयोग गर्नु पर्दछ । रासायनिक विषादीको प्रयोगमा तांवायुक्त विषादी कपर अक्सीक्लोराईड (जस्तै ब्लाईटोक्स ५०, धनुकोप, अनुकोप) २ ग्राम प्रति लिटर पानीमा मिसाएको घोलमा वेर्नालाई २० मिनेट डुबाएर बेर्ना सार्दा रोग कम लाग्दछ । त्यस्तै बोटमा रोगको लक्षण देखा पर्ने बितिकै सोही विषादीको घोल बोटको सबै भाग राम्ररी भिज्ने गरी १०-१५ दिनको फरकमा २-३ पटक छर्कने तर फल टिप्ने वेलाको वालीमा छर्कदा विषादी छरिसके पछिको फल टिप्ने वेला पर्खनु पर्ने दिनको ख्याल राख्नु पर्दछ ।
५. जैविक नियन्त्रण
बैसिलस (Bacillus sp .) नामक शाकाणुको घोलबाट जरा उपचार गरेर विरुवा सार्दा रोगको प्रभावकारी नियन्त्रण भएको उल्लेख छ ।
६. रोग प्रति सजगता अपनाउने :
रोगको प्रभावकारी व्यवस्थापनको लागि कृषकहरु आफै जागरुक भई रोग प्रति सजग हुन नितान्त आवश्यक छ । समयमै रोग कम गर्ने उपाय अपनाउन खेतवारीमा नियमित अवलोकन गर्नु पर्दछ । रोगको स्वभाव र फैलने तरीका सम्बन्धमा जानकारी लिन विषय विशेषज्ञ, प्राविधिकसँग सम्पर्क राखी आपसमा छलफल गरी समयमै उपयुक्त विधिहरुलाई एकिकृत रुपमा अपनाउँदा रोगको रोकथाम हुनुको साथै अन्यत्र फैलन पाउदैन ।
डा. तिमीला नेपाल कृषि अनुसन्धान परिषद् बालीरोग विज्ञान महाशाखाको पूर्व वरिष्ठ वैज्ञानिक (एस ४) हुनुहुन्छ ।
कृषक र प्रविधि राष्ट्रिय मासिक वर्ष ५ अंक २ मा प्रकाशित
Source:https://www.krishisarokar.com/
Comments
Post a Comment