बिक्री हुन थाल्यो कौसीको तरकारी

   कास्की । पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गाका कौसी कृषकले उत्पादित तरकारीको बिक्रीवितरण गर्न शुरु गरेका छन् । कौसी खेतीलाई व्यवस्थित गरेर अभियानमा सक्रिय स्थानीयवासीले तरकारीमा आत्मनिर्भर बन्दै बिक्रीवितरण गर्न शुरु गरेको कौसी खेती कृषक सावित्री घिमिरेले जानकारी दिए ।

 
“हामी पहिलापहिला आफूलाई बढी भएको तरकारी छरछिमेकमा बाँड्ने गथ्र्यौँ, पछिल्लो समय भने लगानी र मेहनतलाई ध्यान दिँदै कौसीमा पनि  व्यावसायिक तरकारी उत्पादन गर्न सकिन्छ र आयआर्जनको बाटो बनाउन सकिन्छ भनेर बिक्री गर्न शुरु गरेका हौँ ।”

 उनले वडाका तीन टोल विकास संस्था मिलेर बनेको नागढुङ्गा विकास समाजले कृषि उपज सङ्कलन तथा बिक्री सहजीकरण वितरण केन्द्रमार्फत तरकारी बिक्री गरिने बताए ।
 
घिमिरेका अनुसार समाजमा १२० घरधुरी सदस्य छन् । सबै कौसीमा धेरथोर तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनेका छन् । अहिले घरमा फलेको तरकारी टिपेर सामाजिक सञ्जालमा राखेपछि ग्राहक तरकारी लिन आइपुग्छन् । घिमिरेले कौसीको तरकारी कुनै व्यापारीलाई नभई सीधै उपभोक्तालाई मात्रै बिक्री गरिने जानकारी दिए । 

उक्त क्षेत्रका कौसीमा अहिले घिरौँला, लौका, सिमी, चिप्लेभिण्टी, करेला, कुरिलो र कागती फलिरहेका छन् । जैविक र तुलनात्मक रुपमा बजार मूल्यभन्दा सस्तो पनि हुने भएकाले उपभोक्ता लाभान्वित हुने उनको भनाइ छ । 

सोही ठाउँका कौसी खेती अभियानकर्मी सरस्वती अधिकारी पनि अब कौसी तरकारीलाई आयआर्जनमा बदल्नुपर्ने बताउनुहुन्छ । कुनै एक याममा  छतका दुई सय किलो तरकारी जोखेको अनुभव सुनाउँदै उनले भने । “हामीले बिक्रीवितरणतिर सोचेनाँै, हाम्रो मेहनत र लगानीलाई अब अर्थमा रुपान्तरण गर्नुपर्छ भनेर बिक्री वितरण केन्द्र स्थापना गरेर जुटेका छौँ ।” उनले महानगरका विभिन्न वडामा कौसी खेतीसम्बन्धी तालीमसमेत दिँदै आएको बताए। कौसी खेतीलाई खर्चिलो बनाउन नहुने बताउँदै उहाँले भान्साको फोहोर व्यवस्थापन गरेर घरभित्रका प्रयोगविहीन भएका भाँडाकुँडा कौसी खेतीमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । 

 महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले पोखर महानगरका करीब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताए । उनले नगरभित्र उत्पादन हुने फोहोर घरघरमै वर्गीकरण तथा व्यवस्थापन गर्दै कौसी खेती प्रवद्र्धनमा महानगर जुटेको जानकारी दिए ।
 
 कडरियाका अनुसार महानगरले ‘छुट्याऔं फोहोर, बनाऔंँ मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा अभियान शुरु गरेको समेत जानकारी दिए । महानगरले सबै वडामा कृषि सञ्जाल गठन गरी आमा समूह, टोल विकास संस्थालाई तालीम दिँदै आएको छ भने कौसी खेतीका लागि भनेर रु ११ लाख बजेट समेत छुट्याएको छ । रासस

स्रोतःhttps://aarthiknews.com/news/22575

बिक्री हुन थाल्यो कौसीको तरकारी

Comments

Popular posts from this blog

What is Prompt Engineering? How to Acquire Expertise?

California State University Launches Systemwide ChatGPT Edu Deployment

Nepali Numbers 1 To 100 १ देखि १०० सम्म नेपाली संख्याहरु ।