कौसी खेतीका एक प्रेरक पात्र, जो आफ्नो कला बाँड्न आतुर छन् (भिडियाेसहित)


लकडाउनको बेला घरमा थुनिएर बसेका धेरैले सामाजिक सञ्जालमा आफ्नो पराक्रम देखाउँदै फोटो पोस्ट्याए।  तरकारी बारी झल्किने ती तस्बिरमा क्याप्सन हुन्थे- लकडाउनको सदुपयोग, अर्गानिक तरकारीको स्वाद ! तर, त्यस्ता फेसनवाला कौसी किसानको कथा होइन, यो। 

काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिका वडा नं. ३ का भरत प्रसाद लामिछाने सरकारी सेवाबाट अवकाश भएपछि कौसी खेतीमा व्यस्त एक किसान हुन् । जो कौसी खेतीका एक उदाहरणिय र प्रेरक पात्र हुन्। 

उमेरले ६० काटिसकेका लामिछानेमा अहिले पनि उत्तिकै जोस र जाँगर देख्न सकिन्छ । बिहान उठेदेखि बेलुकी झिसमिसे साँझसम्म कौसी तथा करेसाबारीमा देखिरहने लामिछाने अधिकांश समय कौसी खेती सम्बन्धी तालिम तथा व्यक्तिगत परामर्शमा तल्लीन रहन्छन् । जीवनको लामो समय कृषि प्राविधिकको रूपमा बिताएका लामिछाने आफूले जानेको सिप अरूलाई पनि सिकाउन पाउँदा सारै हर्षित हुने बताउँछन् । 

पछिल्लो समय सहरी क्षेत्रमा किसानले उत्पादन गर्ने कृषियोग्य भूमिको मात्रा घट्दै बेला लामिछानेको शिक्षा वास्तव मै काम लाग्न सक्छ। किनकि यहाँको उर्वर  जमिन ससाना टुक्रामा खण्डित हुने र त्यहाँ कङ्क्रिटका घर ठडिने क्रम जारी छ। जमिनको अभावको कारण किसानले चाहेको मात्रामा उत्पादन गर्न सकिरहेका छैनन् । अर्कोतिर, बजारमा विषादीरहित तरकारी पाउन पनि गाह्रो छ । उपभोक्ताका लागि बजारको तरकारी पैसा खर्च गरेर विषादी खरिद गरेझैँ भएको छ । यसले गर्दा अहिले सहरी क्षेत्रमा दैनिक आवश्यक पर्ने कृषिजन्य बस्तुहरू उत्पादन गर्न कौसी खेतीको आकर्षण बढेको पाइन्छ । 
     
पछिल्लो समय डाक्टर, इन्जिनियरलगायत व्यावसायिक व्यक्तिका परिवार पनि कौसी खेतीमा आकर्षित देखिन्छन् । सीमित क्षेत्रमा विषादी रहित तरकारी फलाउन सकिने हुनाले हाल धेरै मानिसहरूको कौसी खेतीमा आकर्षण बढ्दै गएको हो। 

यो यथार्थता बुझेका लामिछाने भन्छन्, ‘मेरो चाहना नेपालको हरेक घरमा कौसी खेती गर्न सकियोस्  भन्ने हो। यसको लागि मेरो व्यक्तिगत तर्फबाट आफूले जानेका सिप सिकाउन सधैँ तयार छु । मैले कौसी खेतीको बारेमा सिक्न चाहनेहरूलाई तालिम पनि दिँदै आएको छु ।’ उनी हौसिँदै प्रश्न गर्छन्,  ‘हामीले थोरै लगानीमा घरको छत मै आफूलाई आवश्यक पर्ने तरकारी फलाउन सक्छौँ । आफै  विषादीरहित तरकारी फलाउन सक्छौँ भने बाहिर विषादी भएको तरकारी किन्न किन जाने ?’

उनले २०६० सालदेखि घरको छतमा विषादीरहित तरकारी फलाइरहेका छन् । उनको घरको छत नै तरकारी बारी बनेको छ । लामिछानेको छतमा अहिले विषादीरहित काँक्रा, खुर्सानी, टमाटर, भन्टा, हरियो साग, क्याप्सिकम, काउली, खुर्सानी, धनियाँ, लौका लटरम्मै फलेका छन् ।

गमला, प्लास्टिक र माटोका भाँडा, बोरा र थोत्रा जर्किनमै पनि तरकारी र फलफूल फलाउन सकिने उनको भनाइ छ । ‘कौसी खेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसी खेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ, कौसी खेती अर्ग्यानिक पनि हो, आफ्नै घरमा फलेको तरकारी स्वादिलो पनि हुन्छ,’ उनले भने ।

उनले तरकारीका बोटबिरुवाका सुकेका पातहरूबाट मल बनाउन सकिने बताए । अन्य कुहिने प्रकारका पदार्थलाई मल बनाउँदा फोहोर कम निस्किने, नकुहिने फोहोर महिनौँसम्म जम्मा गर्दा पनि दुर्गन्ध नफैलिने र कम्पोस्ट मलको उपयोगले तरकारी सप्रने उनको अनुभव छ । 

 स्रोतःhttps://aarthiknews.com/news/22628

 https://youtu.be/GnIdw2sTaa8

Comments

Popular posts from this blog

What is Prompt Engineering? How to Acquire Expertise?

California State University Launches Systemwide ChatGPT Edu Deployment

Nepali Numbers 1 To 100 १ देखि १०० सम्म नेपाली संख्याहरु ।