घरमै विकास गरियो यार्सागुम्बा र ४० प्रजातिका च्याउ

 

तपाईहरूलाई पढ्दा अचम्म लाग्न सक्छ, अब यार्सागुम्बा हिमाली क्षेत्रका ठूला पाटन तथा खर्कमा मात्र होइन घरको कोठामा पनि विकास गर्न सकिने भएको छ । पोखरा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक टिकाराम अर्यालले कोठामै यार्सागुम्बा फलाएका छन् । हिमालय च्याउ फार्ममा उनले विशेष प्रविधिमार्फत यार्सागुम्बा विकास गरेका हुन् । 

उनले घरको कोठामै नेपाली प्रविधिमार्फत यार्सागुम्बा विकास गर्न थालेको २ वर्ष भयो । विकास गरेको यार्सागुम्बा कोठाको किट (डब्बा) मा बढ्छ, माटो वा कुनै टिस्यु कल्चरमा होइन । विगत १८ वर्षदेखि विभिन्न प्रजातिका च्याउको कल्चर बैंक स्थापना गरेर नेपाली वनस्पति विज्ञान (बोटनी) मा नयाँ आयाम थपिरहेका प्राध्यापक अर्यालले नेपालमै प्रविधिको विकास गरी घरभित्रको कोठामा बहुमूल्य तथा बहुगुणी यार्सागुम्बा विकास गरेका हुन् । 

अहिले उनले किटमा विकास गरेको यार्सागुम्बा प्रतिगोटा एक हजार अथवा धेरै लिनेलाई त्यसको आधा मूल्यमा उपलब्ध गराइ रहेका छन् । अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बालाई अत्यन्त महँगो र महत्वका साथ लिइन्छ । विशेषतः नेपालको हिमाली जिल्ला र तिब्बतको केही स्थानमा किराको रुपमा पाइने यार्सागुम्बा अहिले अर्यालले ‘कल्टिभेसन’ गरेर उत्पादन शुरु गरेका हुन् । 

‘प्राकृतिक र कल्टिभेट यार्सागुम्बाको औषधि भ्यालूमा खासै फरक छैन,’ अर्यालले भने ‘यसले प्राकृतिक रुपमा उत्पादन हुने यार्सागुम्बाको भ्यालूमा पनि खासै फरक पार्दैन ।’ सीमित ठाउँमा उत्पादन हुने भएकोले यसरी उत्पादन गर्दा प्राकृतिक यार्सागुम्बाको मूल्यमा कमी आउँदैन ।   

एउटा किटबाट १५ ग्राम जति फ्रेस यार्सागुम्बा विकास गर्न सकिन्छ,’ उनले भने ‘ हामीले यसको प्रयोगबाट विभिन्न क्याप्सुलहरू उत्पादन गरेर अझ बढी मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्छौं ।’ क्रिम, कफिहरूमा पनि प्रयोग गर्न सकिन्छ । शक्तिवद्र्धक यार्सागुम्बा विकासित मुलुकमा यसरी नै प्रयोग हुने गरेको छ । यार्सागुम्बमा दिर्घायू, भाइरलसँग लडन सक्ने, किट्नी, मृगौला तथा फोक्सोमा लाग्ने रोगसँगबाट बचाउन सक्ने क्षमता हुने विज्ञहरूको भनाइ छ । 

दुई वर्षअघि उनले पहिलो पटक यार्सागुम्बा विकास गर्दा ५/६ ग्राममात्र पुटिङ बन्यो, तर दोस्रो पटकदेखि उनीे किटको क्षमताअनुसारको पुटिङ निकाल्न सफल भए । 

कसरी विकास गर्न सकिन्छ यार्सागुम्बा ?


वर्षमा चार पटक विकास गर्न सकिने यार्सागुम्बा १८ देखि २० डिग्री सेल्सियस तापक्रममा उत्पादन गर्न सकिन्छ । यार्सागुम्बा उत्पादन गन तापक्रम मेन्टेन गरिएको मान्छे नबस्ने छुट्टै घर हुुनुपर्छ । वातावरणीय स्वच्छता तथा सफा स्वस्थ्य ठाउँमा मात्र यसको उत्पादन सम्भव हुन्छ । विशेष प्रकारको एप्रोन लगाएर यार्सागुम्बा विकास गरेको कोठामा जानुपर्ने हुन्छ ।

डाक्टर इन्भारमेन्ट भएको घरको कोठामा ७० देखि ९० दिनसम्म यार्सागुम्बा उत्पादन गर्न सकिन्छ । यार्सागुम्बाको जिनलाई किटमा केमिकलको प्रयोग गरेर विशेष रुपमा विकास गर्न सकिन्छ । अर्यालले अमेरिकीमा विकास गरिएको यार्सागुम्बाको जिनबाट पोखरामा यसको व्यवसायिक उत्पादन शुरु गरेका हुन् । 

कति लाग्छ खर्च ?

यार्सागुम्बा अत्यन्त महत्व प्राकृतिक जडिबुटी हो । उच्च पहाडी क्षेत्रमा भूईमा फल्ने यो किराको उत्पादन अब क्रितिम प्रविधिबाट उत्पादन सम्भव देखिएको छ ।  राम्रो तथा उन्नत मोडेलको फार्म बनाउन ३० देखि ३५ लाख रुपैयाँ लगानी लागछ । ल्याबको क्षमता र किटको संख्या अनुसार उत्पादन हुने हो । जति बढी किट उतिनै बढी यार्सागुम्बा विकास गर्न सकिने अर्यालले बताए । 

‘कल्चर किन्न अलिकति पैसा लाग्ने हो,’ प्राध्यापक अर्यालले भने ‘यो बहुमूल्य भएकोले बजार राम्रो छ ।’ अहिले बजारमा करिब ४ लाखदेखि ६ लाख प्रतिकेजीमा बिक्री भइरहेको यार्सागुम्बा मास रुपमा विकास गर्न सके ३ लाखमै पाउन सकिने उनले बताए । हिमालय च्याउ फर्ममा अर्यालले अहिले डेढ करोड रुपैयाँ लगानी गरिसकेका छन् । 

नार्कले गर्न नसकेको कल्चर र प्रविधि हिमालयनमा

हिमालय च्याउ फार्मले नेपालमै पहिलो पटक च्याउ तथा यार्सागुम्बाको कल्चर बैंक स्थापना गरेको हो । पेशाले प्राध्यापक अर्यालले आफूले हासिल गरेको ज्ञानलाई च्याउको कल्चर बैंक स्थापना गरेर देशमै उदाहरणनीय काम गरेका छन् । अमेरिका जापानबाट उनले कल्चर आयात गर्छन र सोही प्रविधिमार्फत पोखराको बाटुले चौरमा च्याउ र यार्सागुम्बाको कल्चर बैंक बनाएका छन् । 

सरकारले अहिलेसम्म गर्न नसकेको काम गरेर देखाएका उनलाई अहिलेसम्म सरकारले कुनै सहयोग गरेको छैन भन्दा पनि हुन्छ । संघीय सरकारले कल्चर बैंक स्थापना गर्नेलाई सहयोग गर्ने भनेको बेलामा सानो सहयोग मिलेको थियो । तर, अनुदानको कुरै नगरौं, त्यो नपाएको बराबर हो ।

‘प्रदेश सरकारले यसको महत्व बुझेकै छैन,’ उनले भने ‘यदि सरकारले सहयोग गर्ने हो भने यहि क्षेत्रमै एक लाखलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।’  राज्यले स्थापना गर्न नसकेको कल्चर बैंक अर्यालले स्थापना गरेका हुन् । अहिले उनको बैंकमा विभिन्न अध्ययन तथा अनुसन्धान गर्न विज्ञहरू पुग्ने गरेका छन् ।

फार्ममा कस्तो च्याउ उत्पादन हुन्छ ?

प्राध्यापक अर्यालको कल्चर बैंकमा ४० प्रजातिका च्याउको पाइन्छ । नेपालमा उत्पादन गर्दै आएको गाब्रे, कन्य च्याउ पनि उनको फार्ममा पाउन सकिन्छ । सितागे च्याउको बजार पनि राम्रो छ उत्पादन पनि सहजै गर्न सकिन्छ,’ अर्यालले भने ‘इच्छा रोखेर सिक्न चाहनेलाई निःशुल्क प्रविधि निर्माणको काम समेत सिकाइरहेको छु ।’

नेपालको उच्च हिमाली क्षेत्रमा पाइने ‘चाँगा च्याउ’ अत्यन्त हाई भ्यालूको च्याउ हो । त्यस क्षेत्रमा यो च्याउ उत्पादन गर्न सके हजारौंले रोजगारी पाउने निश्चित छ । तर, यी सबै कार्य गर्न अर्यालको बल बुताले भ्याउँदैन । कसैले यसमा चाख लगाएर गर्ने खोजेमा भने उनी प्रविधि सिकाउन तयार छन् । चाँगाको अन्तर्राष्ट्रिय मूल्य पनि निकै महँगो पर्छ । मूल्यका हिसावले यो यार्सागुम्बा पछिको दोस्रो हो । 

Source:https://aarthiknews.com/news/22269

Comments

Popular posts from this blog

What is Prompt Engineering? How to Acquire Expertise?

California State University Launches Systemwide ChatGPT Edu Deployment

Nepali Numbers 1 To 100 १ देखि १०० सम्म नेपाली संख्याहरु ।