लोक सेवा आयोग: एकीकृत परीक्षा प्रणाली
लोक सेवा आयोगद्वारा सङ्गठित संस्थाहरूको पदपूर्तिमा नयाँ एकीकृत परीक्षा प्रणाली लागू
लोक सेवा आयोगले सङ्गठित संस्थाहरूको लिखित परीक्षालाई अझै बढी प्रभावकारी बनाउने क्रममा एक महत्त्वपूर्ण निर्णय गरेको छ। आयोगले आर्थिक वर्ष २०८२/८३ देखि अप्राविधिक तर्फका केही पदहरूका लागि एकीकृत पूर्वयोग्यता परीक्षा (Integrated Pre-Qualification Examination) सञ्चालन गर्ने घोषणा गरेको छ। यो सूचना आयोगको मिति २०८२/०३/१९ को निर्णय अनुसार प्रकाशन गरिएको हो र सम्बन्धित निकायहरूलाई कार्यान्वयनका लागि निर्देशन समेत दिइएको छ।
के हो एकीकृत पूर्वयोग्यता परीक्षा?
एकीकृत पूर्वयोग्यता परीक्षा, लोक सेवा आयोग आफैले सञ्चालन गर्ने एक प्रारम्भिक चरणको परीक्षा हो। यो परीक्षा पास गरेपछि मात्र उम्मेदवारहरू विभिन्न सङ्गठित संस्थाहरूले खुलाउने पदपूर्ति विज्ञापनमा आवेदन दिन योग्य हुनेछन्।
मुख्य विशेषताहरू:
लागू हुने पदहरू: यो परीक्षा सङ्गठित संस्थाका अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह, वा चौथो तह वा सो सरहका पदहरूको खुला प्रतियोगिताका लागि अनिवार्य हुनेछ।
न्यूनतम शैक्षिक योग्यता: यस पूर्वयोग्यता परीक्षामा सहभागी हुनका लागि न्यूनतम शैक्षिक योग्यता एस.ई.ई. (S.E.E.) वा सो सरह तोकिएको छ।
कार्यान्वयन मिति: यो नयाँ प्रणाली आर्थिक वर्ष २०८२/८३ देखि पूर्ण रूपमा लागू हुनेछ।
परीक्षा र आवेदन प्रक्रिया
नयाँ व्यवस्था अनुसार, पदपूर्तिको प्रक्रिया दुई चरणमा हुनेछ:
पहिलो चरण (पूर्वयोग्यता परीक्षा): लोक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार एकीकृत पूर्वयोग्यता परीक्षाको विज्ञापन प्रकाशन, दरखास्त व्यवस्थापन, र परीक्षा सञ्चालन गर्नेछ।
दोस्रो चरण (विषयगत परीक्षा): पूर्वयोग्यता परीक्षामा सफल भएका उम्मेदवारहरूले आयोगबाट प्रमाणपत्र प्राप्त गर्नेछन्। सोही प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित सङ्गठित संस्थाबाट प्रकाशित हुने पदपूर्ति सम्बन्धी विज्ञापनमा दरखास्त पेश गर्नका लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछन्।
पाठ्यक्रम र वाणिज्य बैंकहरूका लागि विशेष व्यवस्था
आयोगले पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम २०८२/०२/२७ मा स्वीकृत गरी सार्वजनिक गरिसकेको छ, जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ।
यसका साथै, आयोगले तीनवटा प्रमुख वाणिज्य बैंकहरू— राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, र कृषि विकास बैंक लिमिटेड— का लागि छुट्टै व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८२/८३ देखि यी तीन बैंकहरूको अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहका पदको दोश्रो चरणको खुला प्रतियोगितात्मक लिखित परीक्षा संयुक्त रूपमा सञ्चालन गरिनेछ। भविष्यमा अन्य सङ्गठित संस्थाहरूको समेत संयुक्त परीक्षा सञ्चालन गर्न सकिने आयोगले जनाएको छ।
Comments
Post a Comment